प्रकृति र पुरुषको
एक चुम्बनले
जननीमा नयाँ
जीवनको आगमन गराइदिन्छ।
शरीरका यी
कोमल अङ्गहरुलाई
थकानको चुम्बन
सपनाको महल
बनाइदिन्छ।
पुष्पका सुगन्धित
गुच्छाहरुमा भमराले
ओठमा ओठ
स्पर्श गर्दा यौवनको
लाली चढाइदिन्छ
र भन्छ अब त
यौवनको तरङ्गमा
प्राकृतिक अत्तरले नरहरुको
इन्द्रिलाई मोहित तुल्याउ।
शान्त तलाउमा
पत्थरको चुम्बनले
उथपुथलको अवस्था सिर्जना
गरी तलाउलाई सधैँ
यौवनको लाली लगाइदिन्छ।
सादा कागजमा
कलमको मसीले
चुम्बन गर्दा
चुमेको त्यो डोबको
दृश्यले कसैको नयनलाई
मोहित पारी
उषाको किरण सारा
शठ मनुवाहरुको जीवनमा आइदिन्छ।
नयनको एक चुम्बनले
शान्त ह्रदयमा
क्रोध र ममताको
बिज रोपण गरी दिन्छ
अनि त्यही चुम्बनको यादमा
कोमल शरीरहरुलाई
सदैव छटपटाहाटको
स्थितिमा पुर्याइदिन्छ।
शरद र हेमन्तको रातमा
विटपका ती मञ्जरीहरुलाई
शीतको चुम्बनले
जीवन धान्ने स्वासको
आशा प्रदान गर्दा
शशी र ताराहरु
नयन नयन बीच प्रेमको
रसपान गरिरहेका हुन्छन।
मट्टीधुसर शरीरलाई
अग्निको न्यानो चुम्बनले
जननीमा विलीन गराई
सम्झनाका खोटहरुलाई
जीवित गराइरहन्छ।
आखिर यो चुम्बन भन्ने
चिज नै छ यस्तो
जसले इतिहास बनाइ पनि दिन्छ
अनि त्यसलाई निमोठी
कतै फ्याकि पनि दिन्छ।
No comments:
Post a Comment